नवगठित नेपाली कम्युनिस्ट पार्टीको सम्मेलनमा ९ बुँदे प्रस्ताव पारित, घोषणापत्र र अन्तरिम विधान अनुमोदन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नवगठित नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले पार्टीको एकता र आगामी कार्ययोजना तय गर्ने ९ वटा प्रस्ताव पारित गरेको छ। नेता वर्षमान पुनले सम्मेलनमा ९ वटा प्रस्ताव प्रस्तुत गर्दै त्यसलाई उपस्थित प्रतिनिधिहरूसँग अनुमोदन गराएका हुन्। यी प्रस्तावहरू पार्टीको संगठनात्मक संरचनामा सुधार, नीति निर्धारण र आगामी रणनीतिहरूलाई स्पष्ट पार्ने उद्देश्य राखेको छ ।
यस सम्मेलनमा, पार्टीको घोषणापत्र र अन्तरिम विधान २०८२ पनि अनुमोदन गरिएको छ। घोषणापत्रमा पार्टीले समाजवादी दृष्टिकोणबाट नेपाललाई समृद्ध बनाउन, समानता र सामाजिक न्यायको आधारमा सरकारको ढाँचा निर्माण गर्नको लागि प्रतिबद्धता जनाएको छ।
त्यस्तै, अन्तरिम विधानले पार्टीको संरचनात्मक रूप र कार्यप्रणालीको आधार निर्धारण गरेको छ । नेता वर्षमान पुनले सम्मेलनमा भने, "आजको निर्णयले पार्टीको भविष्यका लागि नयाँ दिशा तय गरेको छ। हामीले एकजुट भएर नेपालको राजनीतिक परिप्रेक्ष्यमा सकारात्मक परिवर्तन ल्याउनका लागि अग्रसर हुने प्रतिवद्धता जनाएको छ।"
नेपाली कम्युनिस्ट पार्टीले घोषणापत्रमा समावेश गरेका प्रमुख उद्देश्यहरूमा आर्थिक समृद्धि, शान्ति र सुरक्षा, सामाजिक समानता, महिला र अल्पसंख्यक अधिकारको संरक्षण र शिक्षा र स्वास्थ्य सेवामा सुधारको प्राथमिकता रहेको छ।
प्रस्तावहरू :
१. एकता प्रक्रियामा सहभागीहरूले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको छ ।
२. निर्वाचन चिन्ह पाँच कुने तारा राखिने निर्णय गरिएको छ ।
३. एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य निर्णय गरेको छ ।
४. एकतामा सामेल सबै पार्टी नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र सङ्गठनात्मक समायोजनकाे काम गर्ने, यस अगाडी सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरेको छ ।
५. केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजक निर्वाचित भएपछि संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।
६. विगतमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुनेछ ।
७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैङ्क सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिस्ट पार्टीको हुनेछ ।
८. नेपाली कम्युनिस्ट पार्टीको अन्तरिम विधान र घोषणा पत्र प्राप्त सुझावका आधारमा समेटेर सर्वसम्मति अनुसार पारित गरिएको छ ।
९. नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट अन्तरिम विधान पारित गरिएको छ ।












