नेकपा एकीकृत समाजवादी पार्टी तीन भागमा विभाजित
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एकीकृत समाजवादी तीन भागमा विभाजित भएको छ। नेकपा माओवादी केन्द्र सहित अन्य बाम घटकहरु संग पार्टी एकता गर्ने केन्द्रीय समितिको निर्णय सगै समाजवादी पार्टी तीन टुक्रा भएको हो ।
चार वर्षअघि नेकपा एमालेबाट विभाजित भई माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टी विभाजन सगै विभिन्न माधव नेपाल, घनश्याम भुसाल र रामकुमारी झाँक्री नेतृत्वमा तीन धार बाँडिएको छ।
१. नेपाल नेतृत्वको गुट
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पक्षका अधिकांश नेताहरूसहित माओवादी केन्द्रसँग एकता प्रक्रियामा सामेल भएका छन्। नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल, बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, र जगन्नाथ खतिवडा जस्ता प्रमुख नेताहरू 'नेपाली कम्युनिस्ट पार्टी' गठनमा सहभागी भएका छन्। यस एकता प्रक्रियाले नेपालका वामपन्थी दलहरूको शक्ति बलियो बनाउने विश्पास लिइएको छ ।
२. घनश्याम भुसाल नेतृत्वको क्रान्तिकारी गुट
महासचिव घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीलाई पुनर्गठन गरेर क्रान्तिकारी पार्टी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। भुसाल र उनका समर्थक नेताहरू घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ, दामोदर अर्याल लगायतले बुधबार एक पत्रकार सम्मेलन गरेर मंसिर महिनामा राष्ट्रिय सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन्। यस सम्मेलनको उद्देश्य पार्टीको पुनर्गठन र क्रान्तिकारी दृष्टिकोणलाई मजबुत बनाउनु रहेको बताइएको छ ।
३. रामकुमारी झाँक्री नेतृत्वको गुट
पार्टीको तेस्रो गुटको नेतृत्व नेतृ रामकुमारी झाँक्रीले गर्ने घोषणा गरिएको छ। झाँक्री, जसले २०७८ सालमा एमालेबाट विभाजन गरेर नेपालसँगको नयाँ पार्टी गठनमा सहयोग गरेकी थिइन् । अहिले एकीकृत समाजवादीसँगको आफ्ना राजनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेकी थिइन् । समाजवादी पार्टी छोडेसंगै झाँक्रीले आगामी दिनमा एमालेतर्फ फर्किने संकेत दिइरहेकी छन्।













