केन्टकीमा कार्गो विमान दुर्घटना: तीन जनाको मृत्यु, ११ घाइते
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । केन्टकीको लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा एक कार्गो विमान दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा विमानमा रहेको तीन जनाको मृत्यु भएको र कम्तीमा ११ जना घाइते भएको बीबीसीले जानकारी दिएको छ। विमानमा आगो लागेको र ठूलो धुँवा फैलिएको कारण आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षा उपाय अपनाउन आग्रह गरिएको छ।
दुर्घटनामा तीन चालक दलका सदस्य रहेको पुष्टि भएको छ । दुर्घटनाग्रस्त विमानमा ३८,००० ग्यालन इन्धन भएको जानकारी प्राप्त भएको छ। इन्धनको विस्फोट पछि आगोको ज्वाला फैलिनुका साथै नजिकका व्यवसायहरूमा पनि क्षति पुगेको बताइएको छ।
दुर्घटनास्थलमा राहत र बचाव कार्य जारी छ र यस घटनामा अझै धेरै जना बेपत्ता रहेको खबरहरू आएका छन्। स्थानीय प्रशासनले धुँवाको कारण पर्यावरणीय जोखिमको चेतावनी जारी गरेको छ र बासिन्दालाई घरभित्र बस्न र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
केन्टकी राज्यका गभर्नरले घटनामा गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवार र समुदायसँग एकजुटता प्रकट गरेका छन्। उनीहरूले घटनाको पूर्ण अन्वेषण गरिने र आवश्यक सबै राहत कार्यहरू तुरुन्तै सुनिश्चित गरिने जानकारी दिएका छन्।













