पूर्वराष्ट्रपति यादवसँग गृहमन्त्री अर्यालको भेट: निष्पक्ष चुनाव र राजनीतिक स्थिरतामा जोड
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी चुनावको तयारी तथा राजनीतिक वातावरण सुधारका विषयमा पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण निर्माणका लागि भइरहेका पहलअन्तर्गत मंगलबार अर्याल यादवको बागडोलस्थित निवास पुगेका हुन्।
बैठकमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनापछि सरकारका तर्फबाट शान्तिको अवस्था स्थिरता र पारदर्शी निर्वाचनका लागि गरिएका कदमबारे जानकारी दिएका थिए।
उनले जेनजी आन्दोलनपछि जनताले दिएको म्यान्डेटअनुसार सुशासन र निष्पक्ष निर्वाचन सरकारको प्रमुख प्राथमिकता रहेको बताए। पूर्वराष्ट्रपति यादवले पनि सरकारको प्रयासको प्रशंसा गर्दै वर्तमान तटस्थ सरकारबाट निष्पक्ष र विश्वासयोग्य निर्वाचन हुनेमा विश्वास व्यक्त गरे।
सरकारले निकट भविष्यमा विभिन्न राजनीतिक दल र पक्षसँग संवाद विस्तार गर्दै निर्वाचन पूर्वको राजनीतिक वातावरण स्थिर बनाउन प्रयास जारी राख्ने बताइएको छ।













