सामाजिक विकास र जलवायु सहकार्यबारे राष्ट्रपति पौडेल र गुटेरेस बिच छलफल

User Image Prime TV News २ हप्ता अगाडि
Image of सामाजिक विकास र जलवायु सहकार्यबारे राष्ट्रपति पौडेल र गुटेरेस बिच छलफल

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आज यहाँ शिष्टाचार भेटवार्ता गरेका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पुगेका राष्ट्रपति पौडेल र  संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच आज शीष्टाचार भेटवार्ता भएको हो । 

सो अवसरमा राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न र सामाजिक विकासलाई तीव्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि राष्ट्र संघसँग निकट रही काम गर्न नेपाल तयार रहेको बताए । 

“गत सेप्टेम्बरमा भएको जेन–जी आन्दोलनपछि नेपालमा नयाँ सरकार गठन भएको छ, यस आन्दोलनले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गरेको छ, युवाहरूको आकांक्षा पूरा गर्न हामी प्रतिबद्ध छौं”, भेटमा राष्ट्रपति पौडेलले बताए ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ मा आम निर्वाचनको घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको उल्लेख गर्दै यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनुका साथै सुशासन, विकास र समृद्धिको मात्रा सुनिश्चित गर्ने विश्वास लिएको बताए । ‘हामीले जेनजी आन्दोलनबाट मुलुकलाई सुरक्षित अवतरण गराएका छौ, नेपालको संविधान र लोकतन्त्रको रक्षा गरेका छौं, राष्ट्रपति पौडेलले भने । 

नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू असमानुपातिक र गम्भीर रूपमा भोगिरहेको बताउँदै राष्ट्रपति पौडेलले हामी जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरेको भेटमा बताए । 

“सगरमाथा आधार शिविरको भ्रमणका क्रममा तपाईंले अवलोकन गर्नुभएजस्तै हाम्रा सेता हिमालहरू काला पहाडमा परिवर्तन भइरहेका छन्, यी हिमालहरू एसियाको पानीको स्रोत पनि हुन्, तर तीव्र गतिमा हिउ पग्लँदै जाँदा समग्र पारिस्थिति प्रणाली र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीविकोपार्जनमा जोखिम सिर्जना भइरहेको छ”, राष्ट्रपति पौडेलले बताए । 

सो अवसरमा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले जलवायु परिवर्तनको मार खेपिरहेका नेपालजस्ता मुलुकहरूका लागि जलवायु अनुकूलनका लागि विकसित देशहरूबाट सहयोग उपलब्ध गराउन राष्ट्र संघ लागिरहेको बताउँदै  कार्वन उत्सर्जन घटाउनेतर्फ पनि आफू लागिरहेको जानकारी दिनुभएको प्रेस सल्लाहकार पोखरेलले बताए । उनले नेपालले मानव अधिकारका पक्षमा राम्रो गरिरहेको पनि बताएका छन् । 

राष्ट्रपति  पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार कतार गएका छन् ।