जनार्दन शर्माद्वारा ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा : नयाँ समाजवादी आन्दोलनको खाका सार्वजनिक

User Image Prime TV News २ हप्ता अगाडि
Image of जनार्दन शर्माद्वारा ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा : नयाँ समाजवादी आन्दोलनको खाका सार्वजनिक

काठमाडौ । पूर्वमन्त्री जनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्। उनले यस अभियानमार्फत नेपालमा ‘तेस्रो र नयाँ बाटो’ विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा शर्माले विगत आठ दशकयताका जनआन्दोलन, जनयुद्ध र हालैका जेनजी विद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, समाजवादी एकता र श्रमजीवी जनताको हितमा समर्पित नयाँ आन्दोलनको रूपरेखा प्रस्तुत गरे।

शर्माले भने, “विद्रोह जायज छ, विद्रोह अधिकार हो। आजको आवश्यकता समाजवादी ऐक्यबद्धता हो।” उनका अनुसार यो अभियान कुनै नयाँ राजनीतिक दल होइन, बरु विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनतर्फ उन्मुख गराउने वैचारिक र राजनीतिक प्रयास भएको बताए । 

अभियानद्वारा जारी विज्ञप्तिमा माओवादी आन्दोलनपछि नेपालको कम्युनिस्ट आन्दोलन दिशाहीन बनेको उल्लेख गर्दै, नेताहरू सत्ता र स्वार्थमा फँसेपछि क्रान्तिकारी आदर्श कमजोर भएको निष्कर्ष निकालिएको छ। शर्माले माओवादी आन्दोलनको शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक मोड भने पनि त्यसपछि दलाल पुँजीवादको संसदीय जालमा आन्दोलनको आत्मा हराएको बताए।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो नेतृत्वले नीतिहीनतालाई नै नीति बनायो। क्रान्तिकारी आदर्श र जीवन मूल्यहरू क्षय हुँदै गए। अब नयाँ पुस्तालाई वैचारिक शस्त्र र शास्त्रसहित सुसज्जित गर्दै नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्छ।”

शर्माले मजदुर, किसान, उत्पीडित जाति, लिङ्ग र क्षेत्रका जनताको पक्षमा बोल्ने नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता औँल्याउँदै भने, “मुख्य राजनीतिक दलहरूले जनताको विश्वास गुमाइसकेका छन्। अब नयाँ पुस्ताले इतिहासको भार वहन गर्न तयार हुनुपर्छ।”

अभियानले नेपाललाई स्वाधीन, सम्पन्न र समानतामूलक समाजवादी राज्य बनाउने लक्ष्य लिएको छ। साथै उनले सबै वाम, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकजुट हुन आह्वान गर्दै भने, “यो देशलाई निराशाबाट आशातर्फ लैजानु, समानता र स्वाधीनताको मार्गमा अघि बढाउनु, र नयाँ पुस्ताको हातमा भविष्य सुम्पनु हाम्रो साझा जिम्मेवारी हो।”