सपना सँगै सजिएका ४० वर्ष टुटे: प्रचण्ड–शर्मा छुटिए
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । माओवादी आन्दोलनका दुई प्रमुख पात्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनार्दन शर्मा राजनीतिक यात्राको निर्णायक मोडमा अलग अलग दिशातर्फ हिँडेका छन्। पछिल्लो भेटलाई दुवैले ‘बिदाइ संवाद’का रूपमा स्वीकारेपछि माओवादीभित्रको विवाद औपचारिक रूपमा टुटफुटको चरणमा प्रवेश गरेको छ।
एकीकृत समाजवादी र साना वाम दलसँग पार्टी एकता गर्ने प्रचण्डको निर्णयविरुद्ध कठोर भएर उभिएका शर्मा झुक्ने संकेत नदिँदा दुवैबीचको भेट ‘गुडबाइ’मै टुंगियो। प्रचण्डले सम्झाउने प्रयास गरे पनि शर्मा अडानमै रहे।
भेटमा शर्माले स्पष्ट रूपमा भने, “तपाईंले माओवादीलाई अरूसँग मिसाउनुभयो, म भने माओवादीको पहिचान जोगाएर नयाँ बाटोमा लाग्छु। भविष्यमा व्यापक वाम एकता बनाउँछु।” प्रचण्डले एकतापछि हुने महाधिवेशनमा नेतृत्व हस्तान्तरणको आश्वासन दोहोर्याए, तर शर्मा अस्वस्थित भए। “अघिल्ला निर्णयहरू टार्दै आउनु भयो, यो वाचा पनि भरोसायोग्य छैन,” उनको जवाफ थियो ।
रुकुमको जंगलदेखि सिंहदरबारसम्म सँगै उभिएका यी दुई नेताको यात्रा अहिले भिन्न मोडमा पुगेको छ। भूमिगतकालमा ‘विश्वास’ र ‘प्रभाकर’को जोडी, सशस्त्र युद्धका कमान्डर र डेपुटी कमान्डर, शान्ति प्रक्रियाका मुख्य संयोजक यसरी सँगै बटुलेको इतिहास आज अलगिएको छ।
२०७८ को महाधिवेशनपछि सुरु भएको चिसोपन क्रमशः अविश्वासमा बदलियो। महासचिवको इच्छा पुरा नहुँदा शर्मा असन्तुष्ट बने र उनले ‘आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण र वैचारिक स्पष्टता’को माग खोलामै उठाए । १४ पृष्ठको फरक मत र त्यसपछिका कटु प्रसंगले सम्बन्ध झनै बिग्रियो।
प्रचण्ड र शर्मा विच वढ्दो चिसाोपना अन्तत पार्टी एकता गर्ने निर्णय सगै बाटो अलग–अलग हुन पुगेको छ । यो विभाजन केवल दुई नेता अलग पारेको होइन, माओवादी आन्दोलनलाई फेरि प्रश्नको चौराहामा उभ्याएको माओवादीका नेताहरुनै बताउछन् ।
माओवादी पार्टीमा पटक–पटक विभाजन: राजनीतिक असहमति र नयाँ अभियान
नेपालको वामपन्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको नेकपा माओवादी केन्द्र पार्टी लामो समयदेखि आन्तरिक विवाद र विभाजनको सामना गर्दै आएको छ। पार्टी स्थापना देखि अहिले सम्म विभिन्न समयमा नेताहरूबीच असहमति र वैचारिक मतभेदका कारण पार्टी विभाजनको अवस्था देखिएको छ।
२०६३ मंसिर ५ गतेको शान्ति सम्झौता पछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादी अहिले चिरा चिरामा विभाजित छ । मूलधारका रूपमा प्रचण्ड नेतृत्वमा माओवादी केन्द्र रहे पनि तत्कालीन प्रभावशाली नेताहरू विभिन्न समूहमा विभाजित छन् ।
प्रचण्डबाहेक डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, रामबहादुर थापा, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, आहुतीलगायत नेताहरू छुट्टाछुट्टै समूहमा विभाजित छन् । विभाजनको श्रृंखला अहिले पनि जारी छ । विप्लव नेतृत्वको नेकपा पनि विभाजित भइसकेको छ । माओवादीवाट फुटेकाहरु पनि केही समुह फेरि माओवादी केन्द्रमा नै समाहित पनि भएका छन् ।
माओवादीभित्र देखा परेको फुटले उसको औचित्यमाथि स्वयं माओवादीभित्रैबाट प्रश्न उठ्न थालेको छ ।













