जनार्दन शर्मा केन्द्रीय समिति बैठकमा अनुपस्थित हुने , असन्तुष्ट नेताहरू बिच नयाँ ध्रुवीकरणको प्रयास गर्दै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पार्टी एकताको विषयप्रति असन्तुष्टि जनाउँदै आज बस्ने केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन्।
शर्माले पछिल्ला दिनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, माओवादी (समाजवादी) र नेपाल समाजवादी पार्टीबीच भइरहेका वाम एकता प्रयासप्रति खुलेर असन्तुष्टि जनाउँदै आएका छन्। उनका अनुसार, पार्टी एकता तयारीको नाममा सिद्धान्त र मूल्यमा सम्झौता भइरहेको भन्दै माओवादी आन्दोलनको मूल भावना कमजोर पार्ने खतरा रहेको बताउदै आएका छन् ।
केन्द्रीय समिति बैठक काठमाडौं कमलादी स्थित प्रज्ञाभवन कमलादीमा एक वजेका लागि बोलाइएको छ । केन्द्रीय समिति बैठक बस्ने समयमा शर्माले आजै पत्रकार सम्मेलनको आयोजना गरेका छन्।यसअघि पनि उनले केही कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वशैली र एकता प्रक्रियामा पारदर्शिता नहुँदा आक्रोश व्यक्त गरेका थिए।
पार्टी नेतृत्वले भने एकता प्रक्रिया ऐतिहासिक अवसर भएको र सबै नेताहरूको सहमतिको आधारमा अघि बढाइएको दाबी गर्दै आएको छ। तर, शर्माको असन्तुष्टि सार्वजनिक भएपछि माओवादी केन्द्रभित्र फेरि आन्तरिक मतभेद तीव्र भएको देखिएको छ।
यस एकता प्रक्रियामा नरहेका माओवादीका असन्तुष्ट नेताहरू जनार्दन शर्मा र राम कार्कीसहित एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरूबीच अर्को नयाँ ध्रुवीकरणको प्रयास भइरहेको छ । शर्माले माओवादी केन्द्रलाई पुनर्गठन गर्ने बताएका छन् ।













