सरकारले जेनजी आन्दोलनका ४५ जनालाई शहीद घोषणा गर्‍यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of सरकारले जेनजी आन्दोलनका ४५ जनालाई शहीद घोषणा गर्‍यो

काठमाडौ । सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने ४५ जनालाई शहीद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।

मन्त्री खरेलका अनुसार, “राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणका माग राखी जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनमा सहभागी हुँदा काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा ज्यान गुमाउने ४५ जनालाई राज्यका तर्फबाट शहीदको सम्मान दिने निर्णय भएको हो,” उनले भने।

सरकारले शहीदका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने विषयमा समेत आवश्यक तयारी थालिएको बताएको छ। यसअघि नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको आधिकारिक विवरण सार्वजनिक गरेको थियो। सेनाका अनुसार, तीमध्ये २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको छ भने बाँकी ४१ जनाको मृत्यु ‘अन्य कारण’ भनेर वर्गीकृत गरिएको थियो।

सेनाले ‘अन्य’ सूचीमा राखिएका व्यक्तिहरू लुटपाट, आगजनी र भीड नियन्त्रणका क्रममा लागेको आगोमा जलेका हुन सक्ने उल्लेख गरेको थियो। भाटभटेनी लगायतका क्षेत्रमा भएको आगजनीका घटनामा ज्यान गुमाउनेहरू पनि सोही सूचीमा परेका छन्।

सरकारको ताजा निर्णयपछि सेनाको तथ्यांक र सरकारी मान्यता बीच विरोधाभास देखिएको छ। गत भदौ २३ र २४ गते देशका विभिन्न सहरमा जेनजी पुस्ताले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन गरेका थिए। आन्दोलनका क्रममा केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ठूलो क्षति भएको थियो।