एमालेसँग एकताका लागि खनालको चार शर्त, पार्टी पुनर्गठनको तयारी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेसँग सम्भावित एकताका लागि चार सर्तहरू अघि सारेका छन्। खनालका अनुसार यी शर्त पूरा भएमा मात्र एमालेसँग वार्ता सम्भव हुने बताएका छन् । खनालले भने, "पार्टीप्रति माया ममता अझै छ, तर पार्टीभित्र उत्पन्न भएका गलत विचार, चिन्तन र प्रवृत्तिलाई सच्याउनुपर्छ। यदि त्यो कार्य गरियो भने मात्र एकता सम्भव छ।"
उनले मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा मान्नुपर्ने, पुँजीवादी जनवादी क्रान्ति सकिएपछि समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अगाडि बढ्ने धारणा स्वीकार गर्नुपर्ने, समाजवादी क्रान्ति नेपाली विशेषताको हुने कुरा स्वीकार गर्नुपर्ने र समाजवादी कार्यक्रम प्राप्त गर्न आवश्यक वैचारिक, राजनीतिक र कार्यदिशा नीति अगाडि राख्दै देशी-विदेशी प्रतिक्रियावादको विरुद्ध लड्ने संकल्प लिनुपर्ने सर्त अघि सारेका छन् ।
खनालले स्पष्ट पारे, "यी चार शर्तमा एक रूपता भएपछि मात्रै हामी वार्ता सुरू गर्छौं। अस्थिर चिन्तनको होइन, सुस्थिर चिन्तनको विकास हुनुपर्छ। आधारभूत कुरामा मेल नभए व्यक्तिगत वा समूहगत रूपमा वार्ता अर्थहीन हुन्छ।"
उनले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने र नयाँ पार्टी निर्माण गर्ने योजना रहेको पनि बताए। माओवादी केन्द्रसँगको सम्भावित एकतासँग सम्बन्धित भावनात्मक निकटता पनि रहेको पनि नेता खनालको भनाई छ ।













