नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला, आन्तरिक निकासबारे छलफल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू पार्टीभित्र उत्पन्न निर्णयहीनता र आगामी महाधिवेशनबारे एकमत बनाउने उद्देश्यका साथ भेला भएका छन्।
भेलामा कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्यहरूले पार्टीको हालको अवस्थाबारे समीक्षा गर्दै निकासका उपायहरूबारे विस्तृत छलफल गरिरहेका छन्। सहभागीमध्ये केन्द्रीय सदस्य शङ्कर भण्डारीका अनुसार, केन्द्रीय समिति “अनिर्णयको बन्दी” बनेको अवस्थामा त्यसबाट पार्टीलाई कसरी निकास दिलाउने भन्ने विषयमा छलफल केन्द्रित छ।
भण्डारीले भने, “केन्द्रीय समितिले ठोस निर्णय गर्न नसक्दा संगठनगत गतिशीलता प्रभावित भएको छ। अहिलेको छलफल त्यही अवरोध हटाउने र पार्टीलाई स्पष्ट दिशातर्फ अघि बढाउने प्रयास हो।”
त्यस्तै, केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय समितिलाई प्रभावकारी बनाउन र पार्टीभित्रको विभाजित धारबीच सहमति खोज्ने विषयमा छलफल भइरहेको बताए। उनका अनुसार, “कोही विशेष महाधिवेशन चाहने र कोही नियमित महाधिवेशनको पक्षमा रहने” स्थितिमा सहमतिका बिन्दु पहिचान गर्ने प्रयास भइरहेको छ।
भेलामा पूर्वमन्त्री वीरबहादुर बलायर, सीता गुरुङ, मीन विश्वकर्मा, दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराललगायतका नेताहरू सहभागी छन्। भेलाले आगामी फागुन २१ गते सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउन पार्टीले चाँडै संस्थागत निर्णय गर्नुपर्नेमा जोड दिएको छ। यससँगै, पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको भेरिफिकेसन गर्न नेतृत्वलाई सुझाव दिने तयारी पनि गरिएको बताइएको छ।













