पहिलोपटक विश्वकप जितेपछि भारतीय महिला टोलीलाई बीसीसीआईको ५१ करोड रुपैयाँ पुरस्कार
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । भारतीय महिला क्रिकेट टोलीले पहिलोपटक विश्वकप जितेपछि भारतीय क्रिकेट नियामक निकाय बीसीसीआईले विजेता टोलीलाई ५१ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
बीसीसीआईले जारी विज्ञप्तिमा महिला टोलीको ऐतिहासिक सफलता र उत्कृष्ट प्रदर्शनको सम्मानमा सो निर्णय गरिएको जानकारी दिएको हो । विज्ञप्तीमा भनिएको छ, “महिला खेलाडीहरूको अद्वितीय प्रदर्शनले सम्पूर्ण देशलाई गर्वान्वित बनाएको छ। त्यसको कदरस्वरूप बीसीसीआईले ५१ करोड रुपैयाँ पुरस्कारस्वरूप वितरण गर्ने निर्णय गरेको हो।”
बीसीसीआईका अनुसार उक्त पुरस्कार रकम टोलीका सबै खेलाडी, प्रशिक्षक, छनोटकर्ता तथा सहयोगी कर्मचारीबीच बाँडिनेछ। यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले पनि विश्वकप विजेता भारतलाई १४ मिलियन अमेरिकी डलर पुरस्कारस्वरूप दिने घोषणा गरेको थियो।
त्यसअनुसार, बीसीसीआई र आईसीसी दुबै तर्फबाट भारतीय महिला टोलीले करिब १ सय ७५ करोड रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछ। आइतबार भारतको नवी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा सम्पन्न फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै इतिहासमै पहिलोपटक महिला क्रिकेट विश्वकपको उपाधि जितेको हो।
महिला एकदिवसीय विश्वकप सन् १९७३ मा सुरु भएको थियो। भारतले यस प्रतियोगितामा पहिलो सहभागिता सन् १९७८ मा जनाएको थियो । ४७ वर्षपछि भारतले पहिलोपटक उपाधि जित्दै महिला क्रिकेटको इतिहासमा नयाँ अध्याय कोरेको छ।













