गोपाल किराती माओवादी केन्द्रमा समाहित, प्रचण्ड र किरातीबीच एकता पत्रमा हस्ताक्षर

User Image Prime TV News २ हप्ता अगाडि
Image of गोपाल किराती माओवादी केन्द्रमा समाहित, प्रचण्ड र किरातीबीच एकता पत्रमा हस्ताक्षर

काठमाडौ । देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती माओवादी केन्द्रसँग औपचारिक रूपमा एकीकृत भएका छन्। सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र किरातीबीच एकता पत्रमा हस्ताक्षर भएपछि किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरू माओवादी केन्द्रमा समाहित हुने भएका हुन्।

एकता पत्रमा भनिएको छ, “देशको हालको अभूतपूर्व राजनीतिक जोखिम र अस्थिरतालाई सही दिशातर्फ व्यवस्थित पार्न क्रान्तिकारी शक्तिहरूबीच एकता र ध्रुवीकरण अपरिहार्य बनेको छ।”

पत्रले जनयुद्धका दौरान अपनाइएको ‘प्रतिकूलतालाई अनुकूलतामा रूपान्तरण गर्ने’ नीतिलाई निरन्तरता दिँदै, नेपाली क्रान्तिकारी शक्तिहरूबीच वैचारिक र संगठनात्मक समन्वय बढाउने लक्ष्य लिएको छ।

किराती र प्रचण्डबीचको सहमतिपत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समाजवादी रूपान्तरण, र देशको राष्ट्रिय स्वाधीनता तथा अखण्डताको सुदृढीकरणमा संयुक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

त्यस्तै, विगतमा भएका राजनीतिक, वैचारिक र सांगठनिक कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा र दस्तावेजीकरणका लागि कार्यटोली गठन गर्ने सहमति भएको छ। समीक्षाको निष्कर्षका आधारमा नयाँ दिशानिर्देशन तय गर्दै जनस्तरबाटै एकता, संघर्ष र रूपान्तरणको प्रक्रिया अघि बढाइने जनाइएको छ।

सहमति अनुसार गोपाल किरातीद्वारा विकसित ‘देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र’ सम्बन्धी प्रस्तावलाई पार्टीभित्र व्यवस्थित छलफल गरेर पूर्ण जनवादको आधारमा निर्णय गर्ने उल्लेख गरिएको छ।