तारा चुनाव चिन्ह पहिले नै जन समाजवादी पार्टी नेपालको नाममा दर्ता

User Image Prime TV News २ हप्ता अगाडि
Image of तारा चुनाव चिन्ह पहिले नै जन समाजवादी पार्टी नेपालको नाममा दर्ता

काठमाडौ । नेकपा माओवादी केन्द्र सहित आठ दलले तय गरेको तारा चुनाव चिन्ह पहिले नै जन समाजवादी पार्टी नेपालको नाममा दर्ता रहेको छ।

निर्वाचन आयोगमा दर्ता भएको सुवासराज काफ्ले नेतृत्वको जन समाजवादी पार्टी नेपालको नाममा सेतो पृष्ठभूमिमा रातो पाँच कुने तारा चिन्ह कायम रहेको आयोगका अभिलेखले देखाउँछ ।

२०७३ मंसिर ३० गते दर्ता भएको सो दल १२४ दर्ता दलमध्ये ५४औँ नम्बरमा सूचीकृत छ। जन समाजवादी पार्टी नेपाल अहिले पनि आयोगको सूचीमा सक्रिय देखिए पनि सो दल आठदलीय एकतामा समावेश भएकाले चिन्ह प्रयोगमा कुनै जटिलता नआउने आयोगले स्पष्ट पारेको छ।

आयोगका अनुसार एकतामा आएका राजनीतिक दलले पुरानो दलको नामबाट चिन्ह हटाइ नयाँ एकीकृत दललाई नै सो चिन्ह प्रदान गर्ने व्यवस्था छ। यसअनुसार तारा चिन्ह आगामी संयुक्त दलको नाममा अद्यावधिक गरिने आयोगको भनाइ छ।

आठ दलबीच भएको सहमतिअनुसार तारा प्रमुख चुनाव चिन्हका रूपमा अघि सारिएको थियो। अब आयोगको औपचारिक अद्यावधिकपछि सो चिन्ह संयुक्त दलको नाममा मान्यता पाउनेछ।