राष्ट्रपति पौडेल आज कतार जाँदै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज कतार जाँदै छन् । दोहामा कात्तिक १८ देखि २० गतेसम्म चल्ने उक्त सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिले गरिरहेका छन्।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा १२ सदस्यीय टोलीसहित दोहा जानलागेका राष्ट्रपतिले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार नेपालको तर्फबाट उच्च स्तरको सहभागिता सामाजिक विकास सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य र प्रतिबद्धता मजबूत गर्न महत्वपूर्ण मानिएको छ।
सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा अन्य उच्चस्तरीय सहभागीहरूसँग द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनमा विश्वव्यापी विकास असमानता, जनसङ्ख्यागत चुनौती, प्रविधिक परिवर्तन र सामाजिक प्रभावसम्बन्धी विषयमा गहन छलफल हुने बताइएको छ।
सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलोपटक आयोजना गरिएको यो सम्मेलन यसपटक ३० वर्षपछि दोहामा आयोजना भइरहेको हो। नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षसमेत भएकाले राष्ट्रपतिको सहभागितालाई विशेष महत्त्वको रूपमा हेरिएको छ।
भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ।













