स्वच्छ, सुरक्षित र विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गर्ने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता

User Image Prime TV News २ हप्ता अगाडि
Image of स्वच्छ, सुरक्षित र विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गर्ने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र बनिरहेको अवस्थामा प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बालुवाटारमा समन्वय बैठक गरेकी छिन्।

बैठकमा निर्वाचन सुरक्षा, संघ प्रदेशबीचको सहकार्य र सुशासन सम्बन्धी विषयमा विस्तृत छलफल भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

प्रवक्ता खरेलका अनुसार मुख्यमन्त्रीहरूले प्रदेशस्तरमा भइरहेको सुरक्षा, प्रशासनिक तयारी र विभिन्न कानुनी तथा वित्तीय जटिलताबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनीहरूका अनुसार प्रदेश सरकारहरू तयारीमा जुटेका छन् तर केही नीति तथा बजेट कार्यान्वयनका अवरोध हटाउन केन्द्रको सहयोग अनिवार्य छ।

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले अन्तरिम सरकारले संघीयताको भावनाअनुसार समन्वय नगरेको भन्दै असन्तोष व्यक्त गरे। उनले निर्वाचनका लागि पर्याप्त सुरक्षा वातावरण निर्माण आवश्यक भएको र मतदाताले आत्मविश्वासपूर्वक मतदान गर्न सक्ने स्थिति अझै पूर्ण रूपमा नबनेको बताए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री कार्कीको निर्वाचनप्रतिको प्रतिबद्धता सकारात्मक रहेको उल्लेख गरे। त्यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले देशभर शान्ति सुरक्षा चुनौतीपूर्ण रहेको भन्दै निर्वाचनको वातावरण मजबुत बनाउन संघीय सरकार अग्रसर हुनुपर्ने बताए।

प्रधानमन्त्री कार्कीले सबै तहका सरकारबीच सहकार्यका माध्यमबाट स्वच्छ, सुरक्षित र विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता दोहोर्याउँदै प्रदेशहरूको सुझावलाई सकारात्मक रूपमा लिने आश्वासन दिइन् ।