नर्स र निजी अस्पतालबीच २३ बुँदे सहमति, पाँचौं तहको तलब सुनिश्चित
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । आन्दोलनरत नर्स र निजी अस्पताल प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयको मध्यस्थतामा शनिबार २३ बुँदे सहमति भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार दुवै पक्षका मागलाई समेटेर सहमति तयार गरिएको हो।
सहमति अनुसार नर्सलाई पाँचौं तहको मासिक तलब प्रदान गरिनेछ। निजी मेडिकल कलेज र ठूला निजी अस्पतालहरूले कात्तिकदेखि नै सरकारी पाँचौं तहअनुसार ३४,७३० रुपैयाँ तलब दिने सहमति जनाएका छन्। अन्य निजी अस्पतालहरूले हाल २७,७८४ रुपैयाँ तलब दिने तर एक महिनाभित्र आफ्नो अस्पताल वर्गीकरण पूरा गरी सरकारी सरह पुर्याउने प्रतिबद्धता जनाएका छन्।
तर, पाँचौं तह सरहमा सेवा सुविधा नपुगेको भन्दै कार्यदलका सहभागी नर्स ज्योति रानाभाटले सहमति पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेकी छन्। डा. बुढाथोकीका अनुसार, कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाउने र बाँकी अस्पतालहरूले पनि सरकारी मापदण्डअनुसार पूर्ण तलब सुनिश्चित गर्ने योजना अघि बढाइनेछ।
बैठकमा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा, सचिव डा. विकास देवकोटा, कार्यदल संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, नर्सिङ संघका अध्यक्ष तथा महासचिव, र निजी मेडिकल कलेज तथा अस्पतालका प्रतिनिधिहरू उपस्थित थिए।













