उपत्यकामा फोहोर व्यवस्थापनका लागि मन्त्री कुलमान घिसिङको पहल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । उपत्यकामा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न ऊर्जा तथा सहरी विकासमन्त्री कुलमान घिसिङ सक्रिय भएका छन्। आइतबार बिहान मन्त्री घिसिङ बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटमा पुगेर व्यवस्थापन प्रक्रियाको अनुगमन गरेका छन्।
मन्त्री घिसिङको निजी सचिवालयका अनुसार, उनले स्थानीयवासीहरूले फोहोर ल्याउने गाडीलाई रोक लगाएको घटनापछि, अवरुद्ध भएको फोहोर व्यवस्थापनको प्रक्रिया पुनः प्रारम्भ गर्न पहल गर्न ल्यान्डफिल्ड साइटमा अनुगमन गरेका हुन्। यसअघि, स्थानीयवासीहरूले सहमति कार्यान्वयन नगरेको भन्दै विरोध जनाएका थिए, जसले गर्दा फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको थियो।
शुक्रबारदेखि स्थानीयहरूले फोहोर ल्याउने गाडीहरूलाई रोकेपछि समस्याको समाधानका लागि मन्त्री घिसिङ स्थानमा पुगेका थिए। उनले स्थानीयसँग संवाद गर्दै, फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि समन्वय र सहकार्यको महत्त्व बताए ।
मन्त्री घिसिङले यस समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् र स्थानीय सरकारसँग मिलेर यस मुद्दामा थप सुधारात्मक कदम चाल्ने योजना बनाएका छन्।













