प्रचण्डको चेतावनी: देश ऐतिहासिक मोडमा, समाजवादी क्रान्तिको संकेत प्रस्ट

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रचण्डको चेतावनी: देश ऐतिहासिक मोडमा, समाजवादी क्रान्तिको संकेत प्रस्ट

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले नेपाल गम्भीर राजनीतिक संक्रमणमा रहेको दाबी गरेका छन्।

शनिबार पेरिसडाँडामा शहीद प्रतिष्ठान नेपालको साधारणसभालाई सम्बोधन गर्दै उनले देश साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरणमा पुगेको बताएका हुन्।

पछिल्ला राजनीतिक घटनाक्रमले समाजवादी क्रान्तिको निकट भविष्यको संकेत गरिरहेको बताए । “हालैका घटनाले प्रष्ट देखाएको छ क्रान्ति अब टाढा छैन,” उनले भने, “जनताको असन्तुष्टि संगठित ढंगले प्रस्तुत गर्न सकियो भने समाजवादी परिवर्तन छिटै सम्भव हुन्छ।

शहीद परिवारहरूको पीडालाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न ढिलाइ भएको स्वीकार गरे। उनले आयोग गठनदेखि विधेयक निर्माणसम्मका प्रक्रियामा प्रगति भए पनि अपेक्षित परिणाम नआएको बताए।

उनले वर्तमान परिस्थितिलाई राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथिको चुनौतीको रूपमा चित्रण गर्दै भने, “हामी आज साम्राज्यवादसँग प्रत्यक्ष टकरावमा छौँ। प्रश्न छ समाजवादी प्रक्रिया अग्रसर हुन्छ वा देश विदेशी प्रभावमा परेर कमजोर बन्छ?”

प्रचण्डले हालका सडक आन्दोलनमा सक्रिय युवाको प्रशंसा गरे। उनका अनुसार भ्रष्टाचारविरुद्ध युवाको सहभागिताले राजनीतिक चेतमा नयाँ ऊर्जा थपेको छ।