राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा हरि खड्का

User Image Prime TV News २ हप्ता अगाडि
Image of राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा हरि खड्का

काठमाडौ । महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा गरेको करिब छ वर्षपछि हरि खड्का पुनः राष्ट्रिय टिमको नेतृत्वमा फर्किएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पद छाडेपछि खड्कालाई तत्कालका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

नेपालले कात्तिक २७ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल र मंसिर २ गते मलेसियासँग एएफसी एसियन कप छनोट खेल्ने कार्यक्रम रहेकाले प्रशिक्षक पद रिक्त नरहोस् भनेर एन्फाले आकस्मिक निर्णय लिएको हो।

एन्फाका टेक्निकल डाइरेक्टर समेत रहेका खड्कालाई महासचिव किरण राईले शुक्रबार नियुक्ति पत्र प्रदान गरे। खड्काले परिस्थितिले आफूलाई फेरि जिम्मेवारी लिन बाध्य पारेको भन्दै भने, “विश्व फुटबलमा पनि संकटमा टेक्निकल डाइरेक्टरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने अभ्यास छ। अहिले चुनौती र अवसर दुवै आएको छ।

उनका अनुसार नयाँ स्थायी मुख्य प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया सुरु हुनेछ।मैले सम्हालेको भूमिका अर्को व्यवस्था नहुँदासम्मका लागि हो। प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाइन्छ,” खड्काले स्पष्ट पारे।

खड्काले २०१९ को १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा भारतसँग फाइनलमा पराजित भएपछि महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पद छाडेका थिए। उनको नेतृत्वमा महिला टिम चार फाइनलमा पुगे पनि उपाधि जित्न सकेको थिएन।

पूर्व राष्ट्रिय कप्तान खड्काले प्रशिक्षकका रुपमा महिला टोलीलाई हिरो कप (भारत), नाजेज्दा कप (उज्बेकिस्तान), विराटनगरमा साफ च्याम्पियनसिप र पोखरामा सागको फाइनलमा पुर्‍याएका थिए। साथै, ओलम्पिक छनोटको पहिलो चरण पार गर्न पनि सफल भएका थिए।

नयाँ जिम्मेवारीसँगै पुरुष टोलीमा टेक्निकल र मनोवैज्ञानिक दुवै रुपमा परिवर्तन ल्याउनुपर्ने चुनौती खड्कासामु छ। परिणामले उनको दोस्रो राष्ट्रिय अध्याय कति सफल हुने हो भन्ने छिट्टै स्पष्ट हुनेछ।