चक्रवात ‘मोन्था’को प्रभाव: देशभर बदली, केही स्थानमा वर्षा र हिमपात
Prime TV News २ हप्ता अगाडि काठमाडौ । बङ्गालको खाडीमा उत्पन्न चक्रवात ‘मोन्था’ कमजोर बन्दै भारतको छत्तिसगढ क्षेत्र वरिपरि न्यूनचापीय प्रणालीमा परिणत भएपछि यसको प्रभाव नेपालमा देखिएको छ।
साथै, पश्चिमी वायु र अरब सागरतर्फको न्यूनचाप प्रणालीले थप असर पुर्याइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार कोशी प्रदेशमा पूर्ण बदली छ भने देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्यतया बदली रहनेछ। कोशीका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र बागमती तथा गण्डकी प्रदेशका उचाइ क्षेत्रहरूमा हल्का हिमपात हुन सक्नेछ।
राति कोशी र मधेश प्रदेश सामान्यतया बदली रहनेछन् भने बाँकी प्रदेशमा आंशिक बदली हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।













