माओवादीसँग एकता निर्णयपछि समाजवादी पार्टी फुट्यो, असन्तुष्ट पक्षले छुट्टै भेलाको तयारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of माओवादीसँग एकता निर्णयपछि समाजवादी पार्टी फुट्यो, असन्तुष्ट पक्षले छुट्टै भेलाको तयारी

काठमाडौ । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय लिएपछि पार्टी विभाजन भएको छ । केन्द्रीय कमिटी बैठकले एकता गर्ने निर्णय सुनाएपछि असन्तुष्ट नेताहरू अब छुट्टै भेला बोलाउने तयारीमा छन्।

कात्तिक १२ देखि बसेको केन्द्रीय कमिटी बैठक शुक्रबार टुंगिंदै माओवादीसँग एकता गर्ने प्रस्ताव पारित भएको हो। उपाध्यक्ष जगन्नाथ खतिवडालेविरोधमा कोही नबोलेकोदाबी गर्दै निर्णय सर्वसम्मत भएको बताए।

तर, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्री, विजय पौडेलसहित ११ जना शीर्ष नेताले एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन्। उनीहरूले निर्णयलाई हतार र अव्यावहारिक करार गर्दै असहमति सार्वजनिक गरेका हुन्।

बागमती प्रदेश सांसद लक्ष्मण लम्सालका अनुसार असन्तुष्ट समूह अब औपचारिक रूपमा छुट्टै भेला गरेर आफ्नो धारणा सार्वजनिक गर्नेछ। लम्सालले भने, “असन्तुष्टहरू केही दिनमै एउटै धारमा आउँछौँ र स्पष्ट निर्णय बाहिर ल्याउँछौँ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा ४१९ सदस्य छन्। बहुमत नेता एकतामै उभिए पनि ठूलो समूहको असहमति प्रष्ट भइसकेको छ ।