कांग्रेस महाधिवेशनका लागि दबाब समूह सक्रिय, वाग्मती प्रदेशमा भेला आह्वान

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेस महाधिवेशनका लागि दबाब समूह सक्रिय, वाग्मती प्रदेशमा भेला आह्वान

काठमाडौ । नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनलाई लिएर सक्रिय बनेको हस्ताक्षर अभियान समूहले वाग्मती प्रदेशस्तरीय भेला आह्वान गरेको छ। आइतबारका लागि तय गरिएको भेला आनन्दभूमि पार्टी भेन्युमा आयोजना हुने बताइएको छ ।

भेलामा वाग्मती प्रदेशका हस्ताक्षरकर्ता, महाधिवेशन प्रतिनिधि तथा अन्य प्रदेशका अभियानकर्मीहरू सहभागी हुने तयारी भएको जनाइएको छ । अभियानले पार्टीभित्र नियमित महाधिवेशनको सुनिश्चितताका लागि दबाब दिने वा विशेष महाधिवेशनको माग गर्ने भन्ने विषयमा अन्तिम निर्णय आगामी केन्द्रीय समिति बैठकपछि गर्ने जनाएको छ।

हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेका अनुसार, अहिलेको प्राथमिकता नियमित महाधिवेशनकै तयारीमा केन्द्रित छ। “हामी केन्द्रीय समितिको छलफल र निर्णय हेरेर अगाडिको रणनीति तय गर्नेछौं,” उनले भने, “यदि नियमित महाधिवेशन अस्वीकार भयो भने, विशेष महाधिवेशनको विकल्प स्वतः अघि बढ्नेछ।”

यसैबीच, गगन थापा समूह नजिकका एक केन्द्रीय सदस्यले भने, केन्द्रीय समितिले हस्ताक्षर अभियानको मर्मअनुसार काम नगरे थप दबाब सिर्जना गर्न महाधिवेशन प्रतिनिधिहरूसँग सल्लाह गरेर अर्को चरणमा जाने बताए। उनका अनुसार १६ गतेको भेलापछि प्रदेशगत बैठकहरूको श्रृंखला सुरु हुने सम्भावना छ।

भेला नयाँ पार्टी गठनका लागि नभई अहिलेकै नेपाली कांग्रेसको संगठन सुदृढीकरण र नेतृत्व परिवर्तनका लागि तयारी स्वरूप हुने जनाइएको छ ।