चीनले आफ्नो नयाँ अन्तरिक्ष अभियान प्रक्षेपण गर्दै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । चीनले आफ्नो नयाँ अन्तरिक्ष अभियान शेन्जो ट्वेन्टी वान बुधबार राति ११ बजेर ४४ मिनटमा प्रक्षेपण गर्ने तयारी गरेको छ । चिनियाँ सञ्चार माध्यमहरूका अनुसार, यो उडान चीनको उत्तर–पश्चिमी क्षेत्रमा रहेको जिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट हुनेछ ।
यो अभियान तियांगोङ अन्तरिक्ष स्टेशन तर्फ पठाइनेछ । त्यहाँ हरेक छ महिनामा तीन जना अन्तरिक्ष यात्रीहरूको टोली अदल–बदल गरिने छ । तियांगोङ चीनको अहिलेसम्मको सबैभन्दा ठूलो र महत्वाकांक्षी अन्तरिक्ष परियोजना हो, जसमा अरबौँ डलर लगानी गरिएको छ ।
यसको उद्देश्य अमेरिका र रूसभन्दा अगाडि पुग्ने हो । अभियानमा चीनका सबैभन्दा कान्छा अन्तरिक्ष यात्री ३२ वष्र्रिय वू फेई पनि सहभागी हुनेछन् । उनी फ्लाइट इन्जिनियर हुन् । यो अभियानका टोली नेता झाङ लू हुन्, जो यसअघि पनि अन्तरिक्ष यात्रा गरिसकेका छन् ।
तेस्रो सदस्य झाङ होङझाङ हुन् । अभियानको खास विशेषतामा २ पोथी र २ भाले गरी चारवटा मुसो अन्तरिक्षमा पठाइँदै छ । अन्तरिक्षमा पहिलो पटक मुसाहरूमा जैविक प्रयोग गरिनेछ, जसबाट जीव विज्ञान र अन्तरिक्ष स्वास्थ्यसम्बन्धी नयाँ जानकारी पाउने अपेक्षा गरिएको छ ।
यस अभियानलाई चीनको अन्तरिक्ष महत्वाकांक्षाको अर्को ठूलो कदमका रूपमा हेरिएको छ, जसले देशलाई अमेरिका र रूससँगको अन्तरिक्ष प्रतिस्पर्धामा नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।













