सरकारी सरह सुविधा माग गर्दै नर्सहरूले गरे विरोध प्रदर्शन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल नर्सिङ सङ्घको आह्वानमा शुक्रबार देशभरका नर्सहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सरकारी नर्सहरू सरहको सेवा सुविधा र तलब भत्ता उपलब्ध गराउन माग गर्दै शान्तिपूर्ण रूपमा आन्दोलन गरेका हुन्।
राजधानीको मिनभवनस्थित सिभिल अस्पतालका नर्सहरूले अत्यावश्यक सेवा बाहेकका सबै नर्सिङ सेवा दुई घण्टासम्म बन्द गरी विरोध कार्यक्रम सञ्चालन गरे। आन्दोलनका क्रममा नर्सहरूले “न्यायपूर्ण सेवा सुविधा देऊ”, “नर्सको मेहनतको मूल्य देऊ” भन्ने नारा लगाएका थिए।
सङ्घका अनुसार नर्सहरूको माग दीर्घकालीन रूपमा सम्बोधन हुनुपर्ने र तलब पदोन्नति तथा पेशागत सुरक्षाको विषयमा सरकारले स्पष्ट नीति ल्याउनुपर्ने माग अघि सारेको छ । यसैबीच, नर्सहरूको मागबारे छलफल गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरेको छ। कार्यदललाई छठ पर्वपछि सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
नेपाल नर्सिङ सङ्घले यो आन्दोलनलाई शान्तिपूर्ण रूपमा देशभरका अन्य अस्पतालहरूमा पनि विस्तार गरिने जनाएको छ। सङ्घका पदाधिकारीहरूले वार्ताबाट मागहरू पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।













