रामकुमारी झाँक्रीको टिप्पणी : व्यक्तिगत स्वार्थका कारण गरिएको एकता टिकाउ हुँदैन

User Image Prime TV News २ हप्ता अगाडि
Image of रामकुमारी झाँक्रीको टिप्पणी : व्यक्तिगत स्वार्थका कारण गरिएको एकता टिकाउ हुँदैन

काठमाडौ । नेकपा एकीकृत समाजवादीकी वरिष्ठ नेतृ रामकुमारी झाँक्रीले व्यक्तिको स्वार्थ र संकट टार्नका लागि गरिएको राजनीतिक एकता दीर्घकालीन हुन नसक्ने बताएकी छिन्।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले लेखेकी छिन्,“व्यक्तिको आवश्यकता र व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ। इतिहासको वास्तविकता यस्तै छ। मान्छे नै थपेर बहुमत पुराउन त सकिन्छ, तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्ने चाहिँ होइन।”

उनको उक्त टिप्पणी अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच भइरहेको एकता तयारीसँग जोडिएको रूपमा हेरिएको छ। पछिल्ला दिनमा दुबै दलबीच एकता सम्भावनाबारे छलफल तीव्र हुँदै गए पनि नेताहरूबीच मतभेद देखिएको छ । 

झाँक्रीले आफ्नो टिप्पणीमार्फत एकताको प्रक्रियामा सिद्धान्त, नीति र जनभावना भन्दा व्यक्तिगत स्वार्थ र सत्ताको समीकरणलाई प्राथमिकता दिइएमा त्यसले दीर्घकालीन स्थायित्व ल्याउन नसक्ने संकेत गरेकी छिन्।