लगातारको वर्षा र पहिरोले देशका धेरै राजमार्ग अवरुद्ध
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण नेपालका विभिन्न प्रदेशमा लगातार वर्षा भइरहेको छ । वर्षासँगै भएका पहिरो र बाढीका कारण देशका धेरै प्रमुख राजमार्ग र सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाअनुसार कोशी प्रदेशका धेरै स्थानमा आगामी दिनहरूमा पनि अत्यधिक वर्षा भई थप विपद्जन्य घटना हुन सक्ने चेतावनी जारी गरिएको छ ।
यसैबीच, मेची राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ । राजमार्गको इलाम खण्डमा भने पहिरोका कारण पूर्ण अवरोध भएको छ । सङ्खुवासभाको भोटखोला–४ बरुणखोलास्थित कोशी राजमार्ग जेठ महिनादेखि नै अवरुद्ध रहेको छ । बरुणखोलामा आएको बाढीले ह्युम पाइप बगाउँदा खाँदबारी–थुमसुर खण्ड पूर्ण रूपमा बन्द भएको हो ।
त्यस्तै, रुकुम पूर्वको मध्यपहाडी लोकमार्ग निर्माण कार्य अवधिसम्मका लागि पूर्णरूपमा बन्द गरिएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र अन्तर्गत जोमसोम–कोरोला सडकखण्डमा छुसाङ–ताङबे बीच कालाभिर क्षेत्रमा आएको पहिरो र लेदोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै, म्याग्दीको बेनी–दरवाङ सडकखण्ड पनि बेनी–०४ घुमाउने भिरमा आएको पहिरोका कारण यातायातका लागि बन्द भएको छ । बीपी राजमार्गका विभिन्न स्थानमा पनि पहिरो र बाढीका कारण सडक आवागमन ठप्प भएको जनाइएको छ ।
त्यसैगरी, पाँचथरको तुम्वेवा–२ र धनकुटाको चौबिसे–४ सिमानामा रहेको तमोर–कोरिडोर सडकखण्ड बाढीका कारण अवरुद्ध भएको छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–०६ र ०७ सिमानामा रहेको सिद्धिचरण लोकमार्ग, रसुवाको पासाङल्हामु सडकखण्डका विभिन्न स्थान र सिन्धुलीको गोलन्जोर–६ अकरेभिर खण्डमा रहेको मध्यपहाडी लोकमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएका छन् ।
यससँगै, पाँचथर र रामेछापका मध्यपहाडी खण्डहरू पनि पहिरोका कारण बन्द रहेका छन् । सडक अवरुद्धका कारण धेरै जिल्लामा यातायात सेवा ठप्प, सामान आपूर्तिमा समस्या, र स्थानीय बासिन्दा जोखिममा परेका छन् । सम्बन्धित निकायहरूले स्थानीय प्रशासन, प्रहरी र सडक विभागसँग सहकार्य गर्दै सडक खुलाउने प्रयास जारी रहेको जनाएका छन् ।













