राहदानी छपाइ प्रक्रियामा देखिएको ढिलाइबारे प्रधानमन्त्री कार्कीले गराइन राजदूतलाई ध्यानाकर्षण
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जबीच शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा दुबै देशबीचको द्विपक्षीय सहकार्य, आपसी हितका विषय र भविष्यका साझेदारीका सम्भावनाबारे चर्चा गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीमा नियुक्त भएपछिको यो राजदूत भोल्जसँगको पहिलो भेट हो। भेटका क्रममा राजदूत भोल्जले प्रधानमन्त्री कार्कीलाई कार्यकाल सफल होस् भनी शुभकामना व्यक्त गर्दै जर्मनी नेपालका प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री कार्कीले जर्मनीका तर्फबाट प्राप्त भइरहेको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छन् । भेटमा प्रधानमन्त्री कार्कीले हालको राहदानी छपाइ प्रक्रियामा देखिएको ढिलाइबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित जर्मन कम्पनीले सम्झौताअनुसार काम शीघ्र अघि बढाउन आग्रह गरिन्।
नेपाली नागरिकलाई समयमै राहदानी सेवा उपलब्ध गराउने लक्ष्यका लागि जर्मनीको प्राविधिक सहयोग महत्वपूर्ण हुने बताइयो। जवाफमा राजदूत भोल्जले उक्त विषयमा आफ्नो तर्फबाट पहल गर्दै कम्पनीलाई आवश्यक समन्वय र प्रेरणा दिने आश्वासन दिएका छन्।
भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाल र जर्मनीबीच सात दशकभन्दा बढी पुरानो कूटनीतिक सम्बन्ध छ र विकास सहकार्य, शिक्षा तथा प्रविधि क्षेत्रमा दुई देशबीच सहयोग जारी रहेको छ।













