खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले अदालतको अपहेलनासम्बन्धी मुद्दामा पक्राउ परेका खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको हो । सुनारमाथि अदालतको अपहेलना, अधिवक्तालाई अपशब्द प्रयोग र विद्युतीय कारोबार ऐनअन्तर्गत गैरकानुनी अभिव्यक्ति दिएको आरोप लागेको छ।
अधिवक्ता मनिषा गौतमविरुद्ध सामाजिक सञ्जालमार्फत अपशब्द लेखेको र लाइभ प्रसारणमा गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजुरी दायर गरेकी थिइन्। गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकाले मुद्दा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पठाइएको थियो।
अनुसन्धानका क्रममा फरार रहेका सुनारविरुद्ध प्रहरीले गत साउन २ गते फरार अभियुक्तका रूपमा मुद्दा अदालतमा दर्ता गरेको थियो। त्यसपछि अदालतले साउन ५ गते पक्राउ पुर्जी जारी गरेको थियो।













