तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न अब इजाजतपत्र अनिवार्य
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अबदेखि नेपालमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने कुनै पनि फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
विभागले असोज २७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै महानगरपालिका र उपमहानगरपालिका क्षेत्रहरूलाई कार्यक्षेत्रका रूपमा घोषणा गरेको छ। सोही अनुसार अब एकपटकमा ३ करोड रुपैयाँ भन्दा बढीको घरजग्गा कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत दरखास्त पेश गर्नुपर्नेछ।
निवेदनका लागि इच्छुकहरूले विभागको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने क्रममा मालपोत नियमावली, २०३६ (आठौँ संशोधन २०८२) को अनुसूची–८ मा उल्लिखित कागजातहरू स्क्यान गरी सोही ढाँचामा अपलोड गर्नुपर्नेछ।
विभागका अनुसार यो व्यवस्था घरजग्गा कारोबारमा पारदर्शिता, उत्तरदायित्व र नियमन सुनिश्चित गर्नका लागि लागू गरिएको हो। हालसम्म घरजग्गा कारोबार प्रायः स्वतन्त्र रूपमा हुने गरेक छन् । विभागले सबै सम्बन्धित निकाय, फर्म र कम्पनीहरूलाई निर्धारित समयभित्र आवेदन दर्ता गर्न आग्रह गरेको छ।













