प्रधानमन्त्रीको कार्यालयद्वारा गृहमन्त्री अर्याललाई हटाउने हल्ला खारेज
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन लागिएको भन्ने समाचारलाई असत्य र भ्रमपूर्ण बताएको छ।
प्रधानमन्त्री कार्कीकी स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यममा आएको “प्रधानमन्त्रीको दबाबमा गृहमन्त्रीलाई हटाउन तयारी” सम्बन्धी समाचारप्रति आपत्ति जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, “विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दबाब दिइरहेको भनी आएका विवरणहरूप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ। ती विवरणहरू पूर्ण रूपमा भ्रमपूर्ण र तथ्यविहीन छन्।”
प्रधानमन्त्रीको कार्यालयले यस्ता आधारहीन प्रचारले सरकार र गृहमन्त्रीबीचको समन्वयमा असर पुर्याउने प्रयास भएको भन्दै जिम्मेवार सञ्चारमाध्यमहरूलाई समाचार प्रकाशनमा संवेदनशील हुन आग्रह गरेको छ। यसअघि केही अनलाइन समाचार साइटहरूले मेयर शाहले राजधानीको सुरक्षा र शहरी व्यवस्थापनका विषयमा असन्तुष्टि जनाउँदै गृहमन्त्री परिवर्तनका लागि दबाब दिइरहेको दाबी गरेका थिए।













