बालुवाटारमा त्रिपक्षीय संवाद, जेनजी र राजनीतिक दल एउटै मञ्चमा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बालुवाटारमा पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी समूहबीच त्रिपक्षीय छलफल सुरु भएको छ।
छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल सहभागी छन्। छलफलको उद्देश्य निर्वाचनको वातावरण निर्माण, सहमति विस्तार र युवापुस्ताको सहभागिता सुनिश्चित गर्नु रहेको बताइएको छ।
राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका वर्षमान पुन र माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र निशा डाँगी, तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र गुरूङ र मोहन श्रेष्ठ सहभागी छन्।
त्यस्तै, जेनजी समूहका तर्फबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलायन्स’ का प्रतिनिधिहरू उपस्थित छन्। सहभागी जेनजी सदस्यहरूमा मोनिका निरौला, रक्षा बम, पुरूषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर छन्।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार छलफलमा फागुन २१ गते निर्धारित निर्वाचनलाई सहज, निष्पक्ष र समावेशी बनाउने तयारी, युवापुस्ताको विश्वास बढाउने रणनीति र राजनीतिक दलबीच सहकार्यका उपायहरूबारे मुख्यरूपमा छलफल भइरहेको छ।
यसअघि पनि प्रधानमन्त्री कार्कीले कात्तिक ४ गते राजनीतिक दलहरूसँग र त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जेनजी समूहसँग अलग अलग संवाद गरिसकेकी थिइन्।













