त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ जना नेताहरुको सहभागिता
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ जना नेताहरुको सहभागिता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू सहभागी भएका हुन् ।
निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलो पटक हुन लागेको उक्त छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत रहने छन् ।
राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले) का तर्फबाट एक पदाधिकारीसहित केन्द्रीय सदस्य महेश बर्तौला, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र माधव सापकोटाले छलफलमा भाग लिन बालुवाटार पुगेका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठको सहभागिता रहने सम्बद्ध पार्टीले जनाएको छ ।













