राष्ट्रिय स्वतन्त्र पार्टीले बहु-राजनीतिक संवाद र मतदाता दर्ता अभियान संचालन गर्दै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज सम्पन्न सचिवालय बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। बैठकमा पार्टीको राजनीतिक गतिविधि सुदृढ पार्ने र आम नागरिकसँगको समन्वयलाई प्रवर्द्धन गर्ने निर्णयहरू लिइएको बताइएको छ।
बैठकको निर्णय अनुसार, पार्टीले कार्तिक १४ गते “बहु-राजनीतिक संवाद” आयोजना गर्ने भएको छ। यस संवादको मुख्य उद्देश्य आन्दोलनको उत्पत्ति, नयाँ र प्रगतिशील सुधारका सन्दर्भ साझा बुझाइ, लोकतान्त्रिक मूल्य र स्वतन्त्रताको संरक्षण, साथै भविष्यका राजनीतिक विकल्पहरूबारे खुला छलफल गर्नु रहेको रास्वपाले जनाएको छ । पार्टी प्रवक्ता मनिश झा का अनुसार यस संवादले नागरिकहरूलाई नयाँ राजनीतिक विकल्पहरू र स्वतन्त्र विचार बुझ्न महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास ब्यक्त गरे ।
त्यसैगरी, पार्टीले मतदाता नामावली दर्ता सहजिकरण अभियान संचालन गर्ने निर्णय गरेको छ। अभियान कार्तिक ११ देखि २५ गतेसम्म सञ्चालन हुने जनाएको छ । यस अन्तर्गत, हरेक वडा, पलिका, निर्वाचन क्षेत्र र जिल्लामा नागरिकलाई मतदाता नामावलीमा दर्ता गर्न सहयोग पुर्याइने र यस अभियानको संयोजन सचिवालय सदस्य गर्भे पराजुलीको नेतृत्वमा गर्ने पनि रास्वपाले बताएको छ ।
बैठकले पार्टीका सबै तहमा नियमित गतिविधि सञ्चालन गर्न र आगामी प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारी आव्हानका तयारीहरू सुनिश्चित गर्न निर्देशन दिएको छ। समानुपातिक उम्मेदवारीको लागि आवश्यक कागजात व्यवस्थापन र तयारी यहि कार्तिक २२ गतेसम्म सम्पन्न गर्ने भएको छ ।













