‘नेतृत्व पुस्तान्तरण’ अभियानमा झाँक्रीको ऐक्यवद्धता, वाम एकता र रूपान्तरणमा जोड
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पार्टीभित्रका युवाहरूले अघि सारेको नेतृत्व पुस्तान्तरण र हस्तान्तरण अभियानको समर्थनमा खुलेर उभिएकी छन्। बुधबार पार्टीमा आवद्ध ५२६ जना युवाहरूले संयुक्त रूपमा जारी गरेको वक्तव्यलाई उनले फेसबुकमार्फत समर्थन जनाउँदै युवाहरूको प्रयासलाई ठीक दिशा भएको बताएकी छन्।
‘विचार र राजनीतिमा संगठित नभएकै कारण जेनजी पुस्ताको विद्रोह अरूले हाइज्याक गरे,’ झाँक्रीले फेसबुकमा लेखेकी छन्, ‘तर तपाईंहरूको प्रयास सही छ। मिल्नेहरू जोडिँदै जान्छन्, नमिल्नेहरू छोडिँदै जान्छन्, यो अभियान हो। आत्तिनु पर्दैन, अगाडि बढ्नुस् मेरो सधैं साथ र धेरै शुभकामना छ।’
उनले नयाँ पुस्तालाई विचार र राजनीतिक चेतनाले परिपक्व बनाएर देशको नेतृत्व गर्न सक्षम बनाउनुपर्ने पनि बताएकी छन्। अहिलेका राजनीतिक दलका युवा र विद्यार्थी संगठनहरू प्रभावहीन बनेका कारण जेनजी पुस्ताले नयाँ स्थान खोज्दै संघर्ष सुरू बताइन् । वक्तव्यमा भनिएको छ, “लाखौँ वाम विचारमा विश्वास गर्ने मतदातालाई आफ्नै कम्युनिस्ट पार्टीमा संगठित गर्न सकिन्छ, तर त्यसका लागि पार्टीभित्र रूपान्तरण र नेतृत्व हस्तान्तरण आवश्यक छ।”
वक्तव्यमा पार्टीलाई समयको मागअनुसार सुधार गर्दै प्रगतिशील युवालाई अगाडि ल्याई व्यापक रूपान्तरणसहितको वाम एकताको आह्वान गरिएको छ।














