देशभर मौसम अस्थिर, हिमपात र मध्यम वर्षाको सम्भावना
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । देशभर पछिल्ला केही दिनदेखि सक्रिय पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीका कारण मौसम अस्थिर बनेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थान तथा कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षासहित हिउँ परिरहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश पहाडी भूभागमा बादल रहने तथा कतैकतै हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
राति पनि देशभर आंशिक बदली रहने र पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षासहित हिउँ पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार बागमती, कमला, कोशी र कन्काई नदी तथा सहायक नदीहरूमा आज पानीको बहाब उल्लेखनीय रूपमा बढ्ने अनुमान छ। चुरे र महाभारत क्षेत्रका साना खोला नालामा आकस्मिक बाढी आउने जोखिम उच्च रहेको चेतावनी दिइएको छ।
विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, धनुषा, सप्तरी, झापा, मोरङ, सुनसरीसहित पूर्वका पहाडी तथा तराई जिल्लामा आकस्मिक बहाब र पहिरो जोखिम बढेको विभागले बताएको छ।
मौसमी प्रभावका कारण दैनिक जीवन, यातायात, कृषि तथा पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशतर्फ उन्मुख भई कमजोर हुँदै नेपाल नजिक आइ पूर्वतर्फ सर्ने क्रम जारी रहेको जानकारी पनि विभागले दिएको छ।
विभागले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी किनारामा अनावश्यक गतिविधि नगर्न तथा पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सुझाएको छ।













