ठगी आरोपमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ। नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।
भट्टचनमाथि प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँ ठगी गरेको अभियोग लगाउँदै जाहेरी दिएकी थिइन्। लामाको उजुरी दर्ता भएको लामो समय बितेपनि भट्टचन राजनीतिक र व्यवसायिक प्रभाव प्रयोग गरेर उम्किँदै आएका थिए ।
सीआईबीका अनुसार आवश्यक प्रमाण र विवरण जुटाएपछि उनलाई पक्राउ गरिएको हो।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले भट्टचनलाई समानुपातिक प्रणालीअन्तर्गत जनजाति कोटाबाट पहिलो नम्बरमा राखी सांसद बनाएको थियो।
त्यसअघि उनी नेपाली कांग्रेसमा आबद्ध थिए र सभापति शेरबहादुर देउवाले उनलाई संगठन विभागको उपप्रमुखसमेत बनाएका थिए। भट्टचनले १९९० को दशकमा प्रभु ट्राभल्समार्फत व्यापारिक यात्रा सुरु गरेका थिए। पछि उनले प्रभु बैंक, प्रभु फाइनान्स, प्रभु कार्गो र प्रभु हेलिकप्टरजस्ता व्यवसाय विस्तार गर्दै आफूलाई ठूला व्यापारीका रूपमा स्थापित गरेका थिए।
सीआईबीले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ। प्रारम्भिक अनुसन्धानले ठगी प्रकरणमा अरू व्यक्तिहरूको संलग्नता हुनसक्ने देखिएको प्रहरीले जनाएको छ।













