सर्वोच्च अदालतमा आजदेखि जेनजी आन्दोलनपछिका संवैधानिक विवादमाथि सुनुवाइ सुरु
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । जेनजी आन्दोलनपछिको राजनीतिक संकट, अन्तरिम प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभा विघटनसँग सम्बन्धित रिट निवेदनहरूमा आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ सुरु हुने भएको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र त्यसलगत्तै प्रतिनिधिसभा विघटन गरिएको घटनाक्रमपछि राष्ट्रपति रामचन्द्र पौडेलका निर्णयहरूलाई असंवैधानिक दाबी गर्दै परेका १६ वटा रिट निवेदनमाथि इजलासले आज छलफल थाल्ने भएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, संवैधानिक इजलास सर्वोच्चको एनेक्स भवनमा बिहान १० बजेबाट सुरु हुनेछ। इजलासमा आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा पनि छलफल हुने सम्भावना रहेको पनि उनले बताए।
रिट निवेदनहरूमा चार प्रमुख संवैधानिक प्रश्न उठाइएका छन् । राष्ट्रपति पौडेलले गैरसंसदीय तरिकाले प्रधानमन्त्री नियुक्त गरेको विषय, प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गरेको निर्णय, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूलाई मन्त्री बनाइएको संवैधानिक वैधता र चौथो जेनजी आन्दोलनको दमनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि कारबाहीको माग गरिएको छ ।
रिट निवेदकहरूले संविधानको धारा ७६ बाहेकबाट प्रधानमन्त्री नियुक्ति हुनु असंवैधानिक भएको साथै धारा १३२ मा पूर्वन्यायाधीशलाई सरकारी पदमा नियुक्त गर्न नपाइने व्यवस्था उल्लङ्घन भएको दाबी गरेका छन्।













