ओलीको नयाँ राजनीतिक प्रस्ताव : जेनजीसहित सर्वदलीय सरकार गठनको पहल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखा परेको राजनीतिक अस्थिरता अन्त्य गर्न जेनजी आन्दोलनका प्रतिनिधिसहित सर्वदली, सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन्।
मंगलबार आयोजित एक आन्तरिक छलफलमा ओलीले प्रस्तुत गरेको राजनीतिक मार्गचित्रमा “जेनजीसहितको सहभागितामा सर्वदलीय सरकार” गठनलाई मुख्य विकल्पका रूपमा उल्लेख गरिएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
ओलीले भनेका छन्, “देश अहिले गम्भीर राजनीतिक अनिश्चितताबाट गुज्रिरहेको छ। सबै पक्षबीचको सहमति र सहभागितामार्फत मात्र समाधान सम्भव छ।” उनले जेनजी आन्दोलनका युवा पुस्तालाई पनि राष्ट्रिय पुनर्निर्माण र सुधारको प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिएका छन्।
उनको मार्गचित्रमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको प्रस्ताव पनि समावेश छ। ओलीले संविधानको मर्मअनुसार पुनः राजनीतिक सहमति निर्माण गरी नयाँ दिशा तय गर्नुपर्ने बताएका छन्।
त्यस्तै उनले गत वर्ष जेनजी आन्दोलनका कारण आफू प्रधानमन्त्रीबाट हटाइए पनि त्यसप्रति कुनै तिक्तता नराख्ने र पुनः प्रधानमन्त्रीको दाबी नगर्ने स्पष्ट पारेका छन्। “म देशको स्थायित्वका पक्षमा छु, पदको लोभमा होइन,” ओलीको भनाइ उद्धृत गर्दै रिजालले भने।













