अदालत तोडफोड प्रकरणमा सर्वोच्चले प्रहरीमा जाहेरी दिने निर्णय, फाइल जलेर लाखौं अभिलेख नष्ट
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । देशभरका अदालतहरूमा भएको तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतले प्रहरीमा जाहेरी दिने निर्णय गरेको छ। सर्वोच्च अदालतको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, जाहेरी लेख्ने काम भइरहेको छ र सम्भवतः भोलिसम्म काठमाडौं जिल्ला प्रहरी परिसरमा दर्ता गरिनेछ। “हामीले अहिले कसैको नाम किटानी गर्न सकेका छैनौं,” कोइरालाले भने, “प्रहरीले अनुसन्धानमार्फत संलग्नहरूलाई पहिचान गरी कारबाही गरोस् भन्ने हाम्रो अपेक्षा हो।”
अदालतको निर्णय अनुसार जाहेरी न्यायाधीशहरूका नाममा होइन, सर्वोच्च अदालतका प्रशासनिक उच्च अधिकारीहरू, जस्तै मुख्य रजिष्ट्रार वा रजिष्ट्रारको नाममा दर्ता गरिनेछ। जेनजी आन्दोलनमा भएको दमनपछि देशव्यापी रूपमा भएका तोडफोड र आगजनीका क्रममा राजधानीको रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा पनि ठूलो क्षति भएको थियो।
तीन दिनसम्म लागेको आगलागीले करिब २० हजार विचाराधीन मुद्दाका फाइलहरू र १ लाख ९७ हजारभन्दा बढी फैसला भइसकेका फाइलहरू जलेर नष्ट भएको बताइएको छ । फुल कोर्टको निर्णयमा अदालतका सम्पत्ति र अभिलेखमाथि भएको आक्रमणलाई न्यायिक प्रणालीमाथिको प्रत्यक्ष प्रहार भन्दै कानूनी उपचारका सबै माध्यम प्रयोग गर्नुपर्ने निष्कर्ष निकालिएको छ।













