पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको हस्तान्तरण गरिएको छ । मंगलबार गैर आवासीय नेपाली संघको सहयोगमा निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेश कुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितीका अध्यक्ष मनोज कुमार श्रेष्ठले ट्राफिक कन्ट्रोल रुमको साँचो काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई हस्तान्तरण गरेका छन् ।
ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्प्रति आभार व्यक्त गरे । उनले शहरमा ठूला–ठूला गाडी गुड्ने सडकमात्रै नभइ मान्छे हिड्ने फुटपाथको अवस्थाले शहरको वास्तविक बिकासको चित्रण गर्ने बताए ।
जेनजी आन्दोलनका समयमा तोडफोड भएका सिसिटिभिलाई पुनस्थार्पित गर्दै ट्राफिक प्रहरी कन्ट्रोल रुमबाट निरिक्षण कार्य पूर्ण रुपमा सुरु गर्न सफल भएको उल्लेख गर्दै कार्कीले नियम नमान्नेहरुलाई कारवाहीको दायरामा ल्याउदा नियम मान्नेहरुलाई सम्मान गरिने बताए ।
त्यस्तै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेश कुमार श्रेष्ठले कन्ट्रोल रुममा जडित प्रविधिको उपयोगबाट सवारी दुर्घटना तथा अपराध न्यूनीकरणमा महत्वपूर्ण र समाजका लागि सकारात्मक कार्य हुने बताए ।













