अन्नपूर्ण आधार शिविरमा मौसम खराबी, पदयात्रामा पूर्ण रोक

User Image Prime TV News ३ हप्ता अगाडि
Image of अन्नपूर्ण आधार शिविरमा मौसम खराबी, पदयात्रामा पूर्ण रोक

काठमाडौ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा वर्षा र हिमपात सुरु भएपछि पदयात्रामा पूर्ण रोक लगाइएको छ। मौसम खराबीका कारण केही पदयात्रीहरू तल झर्न वा माथि उक्लिन असमर्थ भएका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकाली नेतृत्वको उद्धार टोली तत्काल परिचालित भएको छ। टोलीले विभिन्न स्थानमा फसेका पदयात्रीहरूको उद्धारका लागि परिचालन भइसकेको छ। अन्नपूर्ण गाउँपालिकासँग समन्वय गर्दै उद्धार कार्य सञ्चालन भइरहेको छ।

अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोग वा सूचना पाएमा प्रहरी कन्ट्रोल १०० वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार, म्याग्दी जिल्लाको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको छ। स्थानीय बासिन्दा, पर्यटक, पदयात्री र पर्यटन व्यवसायीहरूलाई मौसम अवस्था र बसोबासको व्यवस्था ध्यानमा राखेर सुरक्षित रहन सिफारिस गरिएको छ।

प्रशासनले आज बेलुकादेखि कात्तिक १४ गतेसम्म अन्नपूर्ण बेसक्याम्प सम्मको यात्रा पूर्ण रूपमा रोक लगाएको जनाएको छ। जोखिमयुक्त पर्यटकीय स्थलहरूमा अन्नपूर्ण बेसक्याम्प, घोडेपानी, पुनहिल, खोप्रा, धौलागिरि पदमार्ग र मोहरेडाँडा समावेश छन्।