देउवा नेपालमा पैदल, सिङ्गापुरमा ह्विलचेयर: किन फरक?
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । जेनजी आन्दोलनका क्रममा आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर पुगेका छन्। देउवासँग उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवा पनि साथमा छिन्।
सोमबार राति देउवा ठमठम हिँड्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेका तस्विर सार्वजनिक भएको थियो । उनी सिंगापुर एयरलाइन्सको उडानमार्फत त्यसतर्फ गएका हुन्। तर सिंगापुर पुगेपछि देउवा र आरजु दुवै ह्विलचेयरमा सवार अवस्थामा देखिएका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
देउवा भदौ २४ गते जेनजी आन्दोलनका प्रदर्शनकारीद्वारा धारिलो हतियार प्रयोग गरी आक्रमणमा परेका थिए। त्यस क्रममा उनको टाउकोको पछाडिको भागमा चोट लागेर १२ टाँका लगाउनुपरेको थियो। त्यसपछि उनी लामो समय छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत थिए। घटनापछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज १८ गते पार्टी केन्द्रीय समिति बैठकमा छोटो समय उपस्थित भएका थिए।
त्यही बैठकपछि उनले स्वास्थ्य कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। देउवा सिंगापुरमा कति समय उपचारमा रहने भन्ने विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
उपचारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पैदल गएका देउवा सिंगापुर विमानस्थलमा ह्विलचेयरमा देखिएपछि चासो र चर्चाको बिषय बनेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार ह्विलचेयर सेवा केवल शारीरिक असक्षमता भएका वा स्वास्थ्य समस्याका कारण सहायता चाहिने यात्रुका लागि आरक्षित हुन्छ।
यसबाहेक प्रयोग गर्दा यात्रुलाई नैतिक रूपमा जिम्मेवार ठहरिने व्यवस्था छ। नेपालबाट हिँड्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश देउवा सिगापुर एरपोटमा ह्विलचेयरमा देखिदा सामाजिक संजालमा चर्चा भएको छ ।
विमानस्थल स्रोतका अनुसार हालका वर्षहरूमा विमानस्थलहरूमा यात्रुहरूले ह्विलचेयर सेवा गैर आवश्यक रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । केही यात्रुहरूले इमिग्रेशनको लामो लाइन र विमानस्थलभित्रको झन्झटिलो प्रक्रिया छल्नका लागि ह्विलचेयर सेवा माग गर्ने गरेको विमानस्थल स्रोतले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीका अनुसार,“हरेक दिन केही स्वस्थ यात्रुहरू पनि ह्विलचेयर माग्छन्। उनीहरू बोर्डिङ गेटमा पुगेपछि सामान्य रूपमा हिँड्ने गर्छन्। यो सेवा अपांगता भएका वा अशक्त यात्रुहरूको लागि हो, दुरुपयोग गर्नु गलत अभ्यास हो,” उनले भने।













