मुस्ताङमा बाक्लो हिमपात, मुक्तिनाथदेखि मनाङसम्म जनजीवन ठप्प

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मुस्ताङमा बाक्लो हिमपात, मुक्तिनाथदेखि मनाङसम्म जनजीवन ठप्प

काठमाडौ । गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङमा गएरातिदेखि परेको लगातार हिमपातले जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ। बाक्लो हिउँले सडक, घर र धार्मिकस्थलहरू ढपक्क ढाकिएका छन्। प्रसिद्ध मुक्तिनाथ मन्दिर परिसर पनि सेताम्य बनेको छ।

हिमपात सुरु भएपछि स्थानीय प्रशासनले पर्यटक र तीर्थयात्रीहरूलाई तत्काल मुस्ताङ यात्रा स्थगित गर्न आग्रह गरेको छ। हिउँका कारण जोमसोममुक्तिनाथ सडक खण्डमा सवारी आवागमन अवरुद्ध भएको र कतिपय स्थानमा विद्युतीय लाइनसमेत बिग्रिएको जनाइएको छ।

मुस्ताङसँगै म्याग्दी, पर्वत र बागलुङका उच्च पहाडी भेगमा वर्षा र हिमपात भइरहेको छ। स्थानीयका अनुसार विगत वर्षको तुलनामा यसपालि हिमपात असामान्य रूपमा चाँडो र बाक्लो भएको छ, जसले कृषि र जनजीवन दुवै प्रभावित पारेको छ।

त्यस्तै, उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पनि गएरातिदेखि लगातार हिउँ परेको छ। गाउँपालिकाका अधिकांश बस्ती सेताम्य बनेका छन् र विद्यालय तथा यातायात सेवा रोकिएका छन्।

मनाङको ङिस्याङ गाउँपालिकामा पनि भारी हिमपात भएपछि स्थानीय प्रशासनले पदयात्रा नगर्न आग्रह गरेको छ। गाउँपालिकाले विज्ञप्ति जारी गर्दै पर्यटक र स्थानीयलाई सुरक्षित स्थानमै बस्न अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव अझै जारी रहेकाले आगामी एक-दुई दिनसम्म गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हिमपात र वर्षा हुने संभावना रहेको छ। महाशाखाले हिमाली जिल्ला हुँदै यात्रामा निस्कनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।