प्रचण्डले गरे फेरि वाम एकताको आह्वान : कम्युनिस्टहरू एउटै झण्डामुनि आउनुपर्ने बेला यही हो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः वाम एकतामा जोड दिएका छन् ।
मंगलबार बिहान सार्वजनिक वक्तव्यमार्फत उनले माओवादी धारासहित देशका सबै वामपन्थी र प्रगतिशील शक्तिलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन अपिल गरे ।
पछिल्ला वर्षहरूमा विभाजित भएका माओवादी धाराहरू र अन्य वाम शक्तिहरूबीच पुनः सहकार्यको चर्चा चलिरहेका बेला प्रचण्डको यस्तो वक्तब्य आएको हो ।
प्रचण्डका अनुसार अहिले देश राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समाजवाद निर्माणको बाटोमा गम्भीर चुनौतीको सामना गरिरहेको छ । “राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको जग बसाल्न वामपन्थीहरूबीचको एकता र साझा आन्दोलन अपरिहार्य छ,” प्रचण्डले वक्तव्यमा उल्लेख गरेका छन् ।
उनले विभाजन र गुटगत स्वार्थका कारण वाम आन्दोलन कमजोर बन्दै गएको र त्यसले प्रतिगामी शक्तिहरूलाई बल दिएको टिप्पणी गरेका छन् ।
“अब समय फरक दिशातिर फर्कन सक्दैन, इतिहासले हामीमाथि फेरि जिम्मेवारी थोपरेको छ,” प्रचण्डले भनेका छन्, “देशको हित, जनताको आकांक्षा र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि वामपन्थीहरूले एकताबद्ध हुनैपर्छ।”
साथै उनले गणतान्त्रिक र देशभक्त शक्तिलाई संविधानको संरक्षण, लोकतान्त्रिक अभ्यासको सुदृढीकरण र राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन पनि आग्रह गरे ।













