उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सूर्यदेवको आराधनामा समर्पित महान् छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । विहान सबेरै नै भक्तजनहरू गाईको दूध, जल, फूल र अरपन सामग्री लिएर नदीनालाको किनारमा भेला भए ।
कम्मरसम्म पानीमा डुबेर उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन गरिएको हो । धार्मिक परम्परा अनुसार यसरी दिइने अर्घ्यलाई भिन्सरघाटपूजा भनिन्छ ।
पृथ्वीमा जीवन सञ्चालनका लागि सूर्य र जललाई आधार मानेर सूर्यदेवको विशेष पूजा गर्ने धार्मिक परम्परा रहँदै आएको छ ।कार्तिक शुक्ल षष्ठीका दिन सूर्यको पूजा आराधना गर्दा मनोकामना पूरा हुने र इच्छाअनुसारको फल प्राप्त हुने विश्वास गरिन्छ ।
यो पर्वमा विवाहित महिलाले पति र सन्तानको दीर्घायु, अविवाहित युवतीले सुयोग्य वर तथा सन्तान प्राप्तिको कामना गर्ने चलन छ । छठमा तीन दिनसम्म कठोर व्रत बस्ने परम्परा अनुसार बर्तालुले माछा, मासु, लसुन, प्याज लगायत परिकार वर्जना गर्छन् ।
काठमाडौँ उपत्यकामा पनि पछिल्ला वर्षहरूमा छठको भव्यता उल्लेखनीय रूपमा बढेको छ । गुह्येश्वरी, कमलपोखरी, थापाथली, रानीपोखरी लगायतका छठघाटहरू बेहुलीझैँ सिँगारिएका थिए । सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएझैं आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै राजधानीका बर्तालुले व्रत समापन गरेका छन् ।
धार्मिक मान्यताअनुसार महाभारतकालमा द्रौपदी र पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेपछि यो पर्व मनाउन थालिएको मानिन्छ । त्यसैगरी अत्रिमुनिकी पत्नी अनुसूयाले गरेको छठ व्रतबाट अटल सौभाग्य प्राप्त भएको जनविश्वास पनि छ ।













