भारतको मैदानमै नेपालको विजयी: साम्बाको दुई गोलमा भारत पराजित
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपालको महिला राष्ट्रिय फुटबल टोलीले ऐतिहासिक प्रदर्शन गर्दै घरेलु टोली भारतलाई उसको मैदानमै २–१ गोलले पराजित गरेको छ।
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताको अन्तिम खेलमा नेपालका कप्तान सावित्रा भण्डारी (साम्बा) ले दुवै गोल गर्दै टीमलाई शानदार जित दिलाइन्।
खेलको सुरुवातमै नेपालले आक्रामक खेल प्रस्तुत गर्यो। दोस्रो मिनेटमा डिफेन्डर विमला विकेको लामो पासलाई नियन्त्रणमा लिँदै साम्बाले गोलकिपर पानमथोई छानुसँगको वान–भर्सेज–वानमा सटीक प्रहार गरिन् र नेपाललाई १–० को अग्रता दिलाइन्।
भारतले पहिलो हाफमा बराबरी गर्न खोजेपनि नेपाली गोलरक्षक अन्जना राना मगर बारम्बार ढाल बनेकी थिइन्। उनको उत्कृष्ट बचाउका कारण पहिलो हाफ नेपालको पक्षमा १–० को नतिजामा सकियो।
दोस्रो हाफमा पनि नेपालले आक्रामक लय कायम राख्यो। खेलको ६३औं मिनेटमा साम्बाले करिब २५ यार्ड टाढाबाट हानेको फ्रि–किकले सिधै जाली चुम्यो र नेपालको अग्रता दोब्बर बनायो। यो गोलसँगै साम्बाको अन्तर्राष्ट्रिय गोल संख्या ६६ पुगेको छ।
८१औं मिनेटमा भारतकी करिश्मा पुरूषोत्तम सिरभोएकरले एक गोल फर्काएपछि खेल २–१ को रोमाञ्चक स्थितिमा पुगेको थियो। तर बाँकी समय नेपालले बलियो रक्षात्मक संयम देखाउँदै जित सुरक्षित गर्न सफल रह्यो।
यो जितसँगै नेपालले भारतलाई हराएको चौथो अवसर पाएको छ। इरानले लगातार दुई जित निकाल्दै प्रतियोगिताको उपाधि जितिसकेपनि, नेपालको अन्तिम खेलमा आएको यो नतिजा देशका लागि गौरवपूर्ण उपलब्धि रह्यो।
नेपाल अब सिक्किममा भारतविरुद्ध अर्को मैत्रीपूर्ण खेलका लागि तयार हुँदैछ।













