अमेरिका र चीनबीच व्यापार सम्झौतामाथि प्रारम्भिक सहमति
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापार विवाद अन्त्य गर्ने उद्देश्यले तयार गरिएको व्यापार सम्झौताको प्रारम्भिक ढाँचामा दुवै देशबीच सहमति जुटेको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार उक्त सहमतिको ढाँचा यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच हुने भेटवार्तामा विस्तृत रूपमा छलफल गरिनेछ। बेसेन्टले सोमबार पत्रकारहरूसँग कुरा गर्दै भने,“सम्झौतामा टिकटकको अमेरिकी व्यवसायसम्बन्धी अन्तिम सहमति र चीनले दुर्लभ खनिजमा लगाएका प्रतिबन्धहरू हटाउने वा स्थगित गर्ने विषय समावेश छन्।”
उनका अनुसार चीनले अमेरिकाबाट सोयाबिन खरिद पुनः सुरु गर्ने निर्णय पनि गरेको छ। यससँगै राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने सामानमा शतप्रतिशत कर लगाउने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
विश्लेषकहरूका अनुसार यो प्रारम्भिक सहमति विश्वका दुई ठूला अर्थतन्त्रबीच पछिल्ला वर्षहरूमा चर्किँदै आएको ‘ट्रेड वार’लाई शान्त पार्ने सम्भावित प्रयास हो। राष्ट्रपति ट्रम्प अहिले एशियाली मुलुकहरूको एक साता लामो भ्रमणमा छन्।
भ्रमणका क्रममा उनी दक्षिण कोरियामा राष्ट्रपति शी जिनपिङसँग भेट्ने तय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यही भेटमा उक्त सम्झौताको अन्तिम मस्यौदा टुंगोमा पुग्ने अपेक्षा गरिएको छ।













