निर्देशक अमनप्रताप अधिकारीको स्पष्टीकरण : अपशब्द बोले, तर आगजनी गरे भन्ने प्रमाण छैन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of निर्देशक अमनप्रताप अधिकारीको स्पष्टीकरण : अपशब्द बोले, तर आगजनी गरे भन्ने प्रमाण छैन

काठमाडौ । निर्देशक अमनप्रताप अधिकारीले विद्यार्थीहरूको हत्या विरुद्ध आक्रोशमा बोलेको भिडियो भाइरल भएपछि आफूले कुनै पनि सरकारी वा निजी संरचनामा आगजनी नगरेको प्रष्ट पारेका छन्।

भदौ २४ गते संसद् भवनमा आगलागी भइरहेका बेला उनले प्रयोग गरेका अपशब्दसमेत रहेको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको थियो। त्यसपछि सामाजिक र राजनीतिक वृत्तमा अधिकारीप्रति मिश्रित प्रतिक्रिया आएका थिए।

सामाजिक सञ्जालमार्फत जारी गरेको भिडियो सन्देशमा उनले भनेका छन्, “म आफ्नै आँखा अगाडि संसद् भवनभित्रबाट गोली चलाएर चार जना स्कुल ड्रेसमा भएका विद्यार्थीहरूलाई मारिएको दृश्य देखेँ। त्यसपछि आक्रोशमा आएर अपशब्द बोलेँ, तर मैले कुनै संरचनामा आगजनी गरेको छैन।”

अधिकारीले भिडियोमा प्रयोग भएका शब्दले असहज महसुस गर्नेहरूसँग माफी मागेका छन् । तर, जो लक्षित अपशब्द बोलेको थिए त्यसमा मलाई पछुतो छैन, भन्दै आफ्नो अडान दोहोर्‍याएका छन्।

उनले आफूविरुद्ध आगजनीमा संलग्न भएको प्रमाण ल्याउन चुनौती पनि दिएका छन्। “यदि मैले कुनै संरचना जलाएको प्रमाणित भयो भने म स्वयं जेल जान तयार छु,” उनले भने। संसद् भवनमा आगलागी र त्यसअघि विद्यार्थीहरूको हत्या सम्बन्धी घटनाले देशभर आक्रोश फैलिएको छ। कलाकार, विद्यार्थी र नागरिक समाजका प्रतिनिधिहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएका छन्।