छठ पर्वको मुख्य दिन: आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of छठ पर्वको मुख्य दिन: आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै

काठमाडौ । छठ पर्वको मुख्य दिन श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। व्रतालुहरूले दिनभर कठोर निर्जल व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै सूर्यदेवको आराधना गर्ने परम्परा रहेको छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्व शनिबारदेखि सुरु भएको हो। सोमबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रतालुहरूले रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य अर्पण गरी व्रत सम्पन्न गर्नेछन्।

गुह्येश्वरीगौरीघाट, कमलपोखरी, वागमती, विष्णुमती र नख्खु नदी किनारलगायत उपत्यकाका प्रमुख घाटहरूमा छठका लागि विशेष सजावट गरिएको छ। प्रहरी र स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेका छन्।

पौराणिक मान्यताअनुसार छठ पर्वको आरम्भ महाभारतकालमा द्रोपदी र पाण्डवहरूले सूर्यदेवको आराधना गरेपछि भएको बताइन्छ। सूर्यपुराणका अनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले पहिलोपटक छठ व्रत गरेकी थिइन्, जसबाट अटल सौभाग्य प्राप्त भएको उल्लेख छ।

जनविश्वास अनुसार छठ व्रत गर्दा दुःख, दरिद्रता र रोगबाट मुक्ति पाइन्छ। सूर्यको किरणले जीवनको ऊर्जा दिने भएकाले यो पर्वलाई स्वास्थ्य र शुद्धताको प्रतीकका रूपमा पनि लिइन्छ। साम्बपुराणमा उल्लेख भएअनुसार श्रीकृष्णका पुत्र साम्ब सूर्य आराधनाबाट कुष्ठरोगमुक्त भएका थिए भन्ने मान्यता छ।

यस पर्वमा व्रतालुले अघ्र्यका लागि नरिवल, सखर, केरा, बेलपत्र, ऊखु र विभिन्न फलफूल झुप्पा बनाएर अर्पण गर्छन्। आर्थिक अभाव भएका श्रद्धालुहरूले पनि भिक्षा मागेर वा सामूहिक रूपमा सामाग्री संकलन गरी व्रत सम्पन्न गर्ने चलन छ।

छठ पर्व विगतमा मुख्यतया तराई क्षेत्रमा सीमित रहँदै आएको भए पनि अहिले यो पर्व देशभरका नदी, पोखरी र घाटहरूमा समान उत्साहका साथ मनाइन्छ।